बारामा सात कोरोना संक्रमित डिस्चार्ज
बारा, जेठ २२ गते । बारा जिल्लामा बिहिबार १२ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । कोरोना निको भई डिस्चार्ज हुनेमा दुई जना नेपाली सेनाका जवान, एक प्रहरी निरीक्षक, एक प्रहरी नायब निरीक्षक, ४ जना प्रहरी, १ जना पत्रकार र ३ जना सर्वसाधारण रहेका छन् । बाराको कलैया अस्थायी कोभिड–१९ अस्पतालबाट ७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । डिस्चार्ज हुनेमा जिल्ला प्रहरी कार्यालय बारा कलैयामा कार्यरत एक प्रहरी निरीक्षक, एक प्रहरी नायब निरीक्षक, चार जना प्रहरी र एक जना पत्रकार रहेका छन् । दुई पटकको पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि प्रहरी र पत्रकार गरेर सात जनालाई आज डिस्चार्ज गरिएको कलैया अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बीरेन्द्र कुमार मण्डलले बताए । कलैयामा अहिले ५० जना कोरोना संक्रमितको उपचार भई रहेकोमा ७ जना निको भएपछि अब ४३ जना बाँकी रहेका छन् । गत जेठ ३ गतेदेखि १२ गतेसम्म संक्रमितहरु अस्पताल भर्ना भएका थिए । यस्तै आज बारा जिल्लामा फेरी ४ जनामा कोरोनाको संक्रमित भेटिएसँगै बारामा संक्रमितको सँख्या ४७ पुगेको बाराका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पगेनीले बताए । संक्रमण मुक्त भएकाहरुलाई आज एक कार्यक्रमका विच अस्थायी कोभिड अस्पतालमा पुगेर बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित, प्रहरी उपरीक्षक पगेनी सहितले विदाई गरेका थिए ।