पर्सामा एक वर्षमा ६९ वटा मानव अधिकार उलङ्घन

पर्सा, १० पुस । पर्सा जिल्लामा एक वर्षमा ६९ वटा मानव अधिकार उलङ्घनका घटना भएका छन् । अनौपचारिक सेवा केन्द्र इन्सेक पर्साले बिहिवार आयोजित नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० को बार्षिक पूर्व समीक्षा गोष्ठीमा जिल्लामा एक वर्षमा ६९ वटा मानव अधिकार उलङ्घनका घटना भएको तथ्य सार्वजनिक गरेको थियो । इन्सेकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०७५ पौष १८ गतेदेखि २०७६ पुस १० गतेसम्म बलात्कारका ४४ वटा उजुरी प्रहरी कार्यालयमा दर्ता भएका छन् । बलात्कार प्रयासका ३ वटा उजुरी छन् । बलात्कारमा पनि १८ वर्ष भन्दा कम उमेरका बालिका माथि भएको बलात्कारका २५ वटा घटना छन् । जबकी मुलुकी अपराध संहिताले अठार वर्षभन्दा कम उमेरका बालिकासँग सहमतिमै हुने करणीलाई समेत जबर्जस्ती करणी मानेको छ । उमेर समूहका आधारमा करणी गर्ने विरुद्ध ५ वर्षदेखि आजिवन काराबासको सजाय तोकेको छ । त्यसैगरि हत्याका ८, बहु विवाहका ६, मानव बेचविखनका ४, बाल विवाहका २, बाल यौन दुराचारका २ वटा घटना छन् । एक वर्षमा बलात्कार, बलात्कार प्रयास, हत्या, हत्या प्रयास, अपहरण, मानव बेचविखन, बहु विवाह, बाल विवाह, लगायतका ६९ वटा दर्ता भएको इन्सेकका पर्सा प्रतिनिधि केसी लामिछानेले बताउनु भयो । यो वर्ष पर्सामा बलात्कारका घटना ह्वात्तै बढेको अभिलेखबाट देखिएको छ । बहुविवाह विरुद्ध उजुरी परेका छन् । मानव बेचबिखनका घटना पनि सुरक्षा निकायमा आइका छन । त्यसैगरी बाल यौन दुव्र्यबहार, एसिड प्रहार, बोक्सी आरोपमा अमानवीय ब्यवहारका घटना पनि यस वर्ष घटेका छन् । ५ देखि १८ वर्ष उमेर समूहका बालिका बढी बलात्कारमा परेको तथ्याङ्कमा उल्लेख गरिएको छ । इन्सेक पर्साको २०१८ को तथ्याङ्क अनुसार पर्सामा १८ वर्ष मुनिका बालिका बलात्कारको १८ वटा घटना सहित २३ वटा बलात्कारका उजुरी प्रहरीकोमा परेको छ । समीक्षा गोष्ठीमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले प्रहरी अपराध नियन्त्रणमा नेपाल प्रहरी ९४ प्रतिशत सफल रहेको बताउनु भयो । खुल्ला सीमा भएका कारण सुरक्षा व्यवस्थामा केही चुनौतीपूर्ण रहेको र प्रहरी सक्रियता बढाएर अपराध नियन्त्रणको निरन्तर प्रयास भइरहेको राठौरले दावी गर्नु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान, तवरेज अहमद लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।