पानी परेसँगै बाघझोरामा सधैं जाम, कहिले हुन्छ दीर्घकालीन समाधान

हेटौंडा– हेटौंडा–१, चौकीटोलका उमेश लामाले हेटौंडा–काठमाडौं छोटो मार्ग भएर सुमो चलाउन थालेको करिब दस वर्ष भयो । प्रत्येक वर्ष वर्षाको समयमा उनले भोग्ने एउटै समस्या भनेको भीमफेदी गाउँपालिका १ स्थित बाघझोराको जाम हो । ‘पानी परेसँगै बाघझोरामा जाम परिहाल्छ । प्रत्येक वर्ष हामी चालक र हजारौं यात्रुले भोग्ने समस्या नै हो यो,’ चालक लामाले भने ।

प्रत्येक वर्ष उक्त स्थानमा वर्षाको समयमा डाँडाबाट बगाएर आउने लेदोसहितको पानीका कारण सडक अवरुद्ध हुने गरे पनि दीर्घकालीन रूपमा समस्या समाधानका कुनै पक्षबाट पहल भएको छैन । समय समयमा मन्त्री तथा विभिन्न पार्टीका राजनीतिक व्यक्तिबाट ओभर हेडब्रिज बनाउने प्रतिबद्धता आउने गरे पनि वर्षा सकिएसँगै उक्त विषय सेलाउने गर्छ ।

लगातारको वर्षासँगै उक्त क्षेत्रमा आउने लेदो हटाउन डिभिजन सडक हेटौंडाले असारदेखि भदौसम्म २४ सै घण्टा स्काभेटर र चालकलाई तैनाथ गर्दै आएको छ । हेटौंडाबाट करिब सात किलोमिटर टाढा रहेको उक्त स्थान भएर दैनिक साना र ठूला गरी एक हजार सवारीसाधन आउजाउ गर्छन् ।

विशेष गरी त्रिभुवनराजपथ, हेटौंडा–सिस्नेरी–काठमाडौं, हेटौंडा–फाखेल–काठमाडौं तथा हेटौंडा–मातातीर्थ–काठमाडौं भएर गुड्ने साना सवारीलाई प्रत्येक वर्षको वर्षामा बाघझोराको जामले सताउने गरेकै छ । ‘वर्षातको समयमा छोटो मार्गमा सधैं समस्या देखिन्छ ।

विशेष गरी काठमाडौंबाट आउने यात्रु त्रिभुवनराजपथ भएर घुमाउरो यात्रा गरी आए पनि बाघझोरामा अडकँदा समस्यामा पर्ने गर्छन्,’ जिल्ला ट्राफिक प्रहरी मकवानपुरका प्रमुख प्रहरी निरीक्षक हरिविष्णु ढकालले भने । हेटौंडा हुँदै बाघझोरातर्फ जाने सवारी जाममा परेको खण्डमा फर्केर बजारतर्फ आउन मिल्ने हुँदा खासै समस्या नहुने भए पनि काठमाडौंबाट आउने क्रममा भैंसेपट्टी जाममा पर्दा यात्रुलाई समस्या पर्ने गरेको उनले बताए ।

डिभिजन सडक हेटौंडाका इन्जिनियर तथा प्रवक्ता जयराम अधिकारीका अनुसार उक्त स्थानमा पुल निर्माणका लागि संघीय सरकारसँग दुई वर्षअघि बजेट माग गरिए पनि सुनुवाइ नभएको बताए । ‘उक्त स्थानमा पुल नबनाएसम्म दीर्घकालीन समाधान हुँदैन । हरेक वर्ष वर्षामा दुःख दिइनै रहन्छ,’ उनले भने ।

उनका अनुसार डिभिजन सडकले ०७४/७५ मा करिब ८० लाख रुपैयाँ खर्चेर कंक्रिट ढलान र तारजाली लगाउने काम गरेको कारण पछिल्लो समय केही समय अवरुद्ध भए पनि बाटो खोल्न सजिलो भएको उनले दाबी गरे । ‘अहिले वर्षाको समयभर बाघझोरा नजिकै हामीले स्काभेटरलाई सोही स्थानमा राख्ने गरेका छौं । कतिखेर भेल आउँछ, जाम हुन्छ, भन्नै सकिन्न,’ उनले थपे । कान्तिपुरमा सुवास बिडारीले यो समाचार लेखेका छन् ।