दुई विश्वविद्यालयको विवादमा मुख्यमन्त्रीको हस्तक्षेप, १० करोडको भवन शिलान्यास

हेटौंडा–त्रिभुवन विश्वविद्यालयअन्तर्गतको वन विज्ञान अध्ययन संस्थानको लामो समयदेखिको अवरोधलाई पन्छाउँदै हेटौंडामा कृषि तथा वन विश्वविद्यालयले सुविधा सम्पन्न भवन निर्माण सुरु गरेको छ । कृषि तथा वन विश्वविद्यालयले स्थापना भएको आठ वर्षपछि करिब १० करोडको लागतमा सुविधा सम्पन्न पाँच तल्ले शैक्षिक भवन निर्माणको काम अघि बढाइएको हो ।

सोमबार प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भवनको शिलान्यास गरेका छन् । त्रिविअन्तर्गतको वन विज्ञान अध्ययन संस्थान र २०६७ सालमा स्थापना भएको कृषि तथा वन विश्वविद्यालयबीच लामो समयदेखि जग्गाको स्वामित्वको विवाद रहेको थियो ।

भवन तथा अन्य संरचना बनाउन त्रिविले पटकपटक रोक लगाउँदै आएको थियो । दुई विश्वविद्यालयको विवादका कारण ठेक्का भई सम्झौतासमेत भइसकेको अवस्थामा भवन निर्माण नै प्रभावित हुने भएपछि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल आफैंले हस्तक्षेप गरी भवन निर्माण थालेका हुन् ।

शैक्षिक भवनको शिलान्यासपछि बोल्दै मुख्यमन्त्री पौडेलले शिक्षाको विकासमा कसैले अवरोध गर्न नहुने बताए । संरचना निर्माण गर्दा भोलि सबैको लागि फाइदा हुने भन्दै उनले विकासको काममा पक्ष विपक्षमा विभाजित हुन नहुने धारणा राखे । वन विज्ञान अध्ययन संस्थानले गरिरहेको अवरोधको प्रसङ्ग निकाल्दै उनले सरकारी काममा सरकारी पक्षकै हस्तक्षेप तथा अवरोध हुनु दुखद भएको बताए ।

त्रिविको स्वामित्वमा रहेको एक सय ६० बिगाहा जग्गामध्ये ६० बिगाहा जग्गा कृषि तथा वन विश्वविद्यालयलाई दिने गरी करिब दुईवर्षअघि नै मन्त्रिपरिषद्ले निर्णय गरेको भए पनि हालसम्म जग्गाको कित्ताकाट हुन सकेको छैन । सरकारले उपलब्ध गराएको रकमबाट ठेक्का आह्वान गरी करिब दुई कट्ठा क्षेत्रफलमा फैलिने गरी एएफयुले भवन निर्माण थालेपछि वन विज्ञान अध्ययन संस्थानले पटक पटक सूचना निकाली भवन निर्माण नगर्न सूचित गरेको थियो ।

लिफ्टसहितको पा“च तल्ले भवनमा २० वटा कोठा हुनेछन् । दुईवर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको विश्वविद्यालयका वन संकायका डिन डा. बलराम भट्टले जानकारी दिए । भवनमा कक्षा कोठा, पुस्तकालय, प्रयोगशाला, सेमिनार हल निर्माण हुने डिन भट्टले बताए ।

कार्यक्रममा प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले नेपालले समृद्धिको लागि वन र कृषिलाई आधार बनाउनुपर्नेमा जोड दिए । दुई विश्वविद्यालयबीचको विवादकै प्रसङ्ग उठाउँदै उनले शिक्षाको विकास हुने काम गर्दा विवाद नगर्न आग्रह गरे । वन र कृषिको विकासको लागि नयाँ अवधारणासहित आए प्रदेश ३ सरकारले सहयोग गर्ने पनि मन्त्री नेपालले प्रतिवद्धता जनाए ।
राष्ट्रियसभा सदस्य रामचन्द्र राईले कृषि तथा वन विज्ञान विश्वविद्यालयले देशमा आवश्यक दक्ष जनशक्ति उत्पादन गरिरहेको बताउँदै विश्वविद्यालयको विकासमा सबैको साथ रहनुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रदेश ३ का प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले वन संकायको लागि निर्माण हुन लागेको भवनले शैक्षिक पूर्वाधार विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । विश्वविद्यालयको विकासमा आफू र आफ्नो पार्टी प्रतिवद्ध रहेको बताए ।
कृषि तथा वन विज्ञान विश्व विद्यालयका उपकुलपति ईश्वरीप्रसाद ढकालले विश्व विद्यालयले कृषि र वन सम्बन्धी १० भन्दा बढी परियोजनाहरु सञ्चालनमा ल्याएको जानकारी गराए । विश्वविद्यालयले हालसम्म ६ वटा आंगिक क्याम्पस सञ्चालनमा ल्याएको बताउँदै आगामी वर्ष ३ वटा आंगिक क्याम्पस सञ्चलनमा ल्याउने तयारी भएको बताए । कृषि तथा वन विश्वविद्यालयअन्तर्गत वन संकाय हेटौंडामा हाल करिब चारसय विद्यार्थीले स्नातक, स्नातकोत्तर र विद्यावारिधिको अध्ययन गरिरहेका छन् ।