प्रदेश सरकारद्धारा विशेष अनुदानमा कटौती

हेटौंडा–प्रदेश ३ सरकारले विभिन्न स्थानीय तहलाई उपलब्ध गराउदै आएको विशेष अनुदानको रकम घटाएको छ । चालु आर्थिक वर्षमा ६५ करोड रुपैया विशेष अनुदानको व्यवस्था गरेको प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ मा २५ करोड रुपैया“ विशेष अनुदान घटाएर ४० करोड रुपैया“ मात्र बजेट विनियोजन गरेको हो । प्रदेश सरकारले स्थानीय तहलाई चालु आर्थिक वर्षमा उपलब्ध गराएको विशेष अनुदानको काममा खासै प्रगति नदेखिएपछि घटाइएको मन्त्रालयले जनाएको छ ।

प्रदेश ३ सरकारले चालु आर्थिक वर्षमा १३ वटा स्थानीय तहलाई विशेष अनुदान उपलब्ध गराएको थियो । चालु आर्थिक वर्षमा प्रदेश सरकारले अन्तरस्थानीय तहको सन्तुलित विकास गर्ने उद्देश्यले आर्थिक एवम् सामाजिक रूपले पछाडी परेका एवम् मानव विकास सूचकाङ्कमा कमजोर स्थानीय तहलाई प्रति जिल्ला एक स्थानीय तहका हिसाबले प्रदेश सरकारले विशेष अनुदान रकम उपलब्ध गराएको हो ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६५ करोड रुपैया रकम उपलब्ध गराएको हो ।
‘प्रदेश सरकारले स्थानीय तहलाई उपलब्ध गराएको रकम किस्ताबन्दी रुपमा पठाइरहेका छौं । योजना छनौट गरेर काम गरेस“गै कार्यप्रगतिका आधारमा रकम पठाइरहेका छौं ।’, आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव घनश्याम पन्थीले जानकारी दिए । उनका अनुसार विशेष अनुदान वितरणका लागि प्रदेश सरकारले कार्यविधि नै निर्माण गरेको छ ।

चालु आर्थिक वर्षमा दोलखाको कालिञ्चोक गाउपालिका, भक्तपुरको चागुनारायण नगरपालिका, सिन्धुपाल्चोकको पाचपोखरी थाङपाल, रसुवाको नौकुण्ठ गाउँपालिका, ललितपुरको कोन्ज्योसोम गाउँपालिका, काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका, रामेछापको दोरम्ब गाउँपालिका, सिन्धुलीको घ्याङलेख गाउँपालिका, धादिङको रुबी भ्याली गाउँपालिका, नुवाकोटको दुप्चेश्वर गाउँपालिका, काठमाडौंको शंखरापुर नगरपालिका, चितवनको इच्छाकामना गाउँपालिका र मकवानपुरको राक्सिराङ गाउँपालिकाले विशेष अनुदान स्वरुप पाच करोड पाउनेछन् ।
हालसम्म सवै गाउँपालिकाले दुईकरोड ५० लाख रुपिया बराबरको रकम निकासा भइसकेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख हरि उपाध्यायले जानकारी दिए । उनका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयको आग्रहमा पहिलो किस्ताबापत्को रकम करिब ३२ करोड ५० लाख रुपिया अनुदान गाउँपालिकालाई पठाइसकिएको छ । ‘आर्थिक मामिला मन्त्रालयको आग्रह अनुसार हामीले सम्बन्धित गाउ“पालिकाको खातामा रकम जम्मा गर्ने गरेका छौं ।’, उनले भने ।
कान्तिपुर दैनिकमा सुवास बिडारीले समाचार लेखेका छन् ।