अख्तियारमा झुटो उजुरीको चाँङ, आठसय उजुरीमा चारसय झुटो

श्रीजना नेपाल

हेटौडा–कोही सार्वजनिक पद धारण गरेको व्यक्तिसँग केही असमझदारी भए उसलाई दुःख दिने नियतले अख्तियारमा बेनामे उजुरी दिने उजुरीकर्ताको संख्या बढ्दो रहेको पाइएको छ । जसको कारण अख्तियारका कर्मचारी हैरानी खेपिरहेका छन् ।

पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयमा भ्रष्टाचार र अनियमितताको उजुरी दिनेको संख्या बढ्दै गएको छ । तर, त्यस्ता उजुरीहरुमध्ये धेरै उजुरीहरु झुटा हुने गरेको अख्तियारले जनाएको छ । व्यक्तिगत रुपमा असमझदारी हुँदा उसलाई दुःख दिने नियतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुटो उजुरी दिनेको संख्या बढेको बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडामा क्षेत्राधिकारमा नपरेका, पर्याप्त प्रमाण नपुग्ने र शंकाका आधारमा मात्रै पनि उजुरी दर्ता हुने गरेको आयोगका सूचना अधिकारी देबकुमार राईले बताए ।

राईले व्यक्तिगत झगडा तथा असमझदारीको कारण नै धेरैजस्तो झुटा उजुरी पर्ने गरेको बताए । उनको अनुसार चालु आर्थिक वर्षको बैशाखसम्ममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडामा आठसय ७५ वटा भ्रष्टाचारका उजुरीहरु दर्ता भएका छन् । जसमा पाँचसय २ वटा उजुरी फछ्र्यौट भइसकेका छन् । तीमध्ये चारसय दुई वटा उजुरी झुटो रहेको पाइएको छ ।

सूचना अधिकारी राईले भ्रष्टाचार न्यूनीकरण गर्न आम नागरिकहरुले अख्तियारलाई सहयोग गर्न खाजेपनि अधिकांश सूचनाहरु तथ्यहीन आउने गरेको बताए । बेलाबेलामा त्यस्ता सूचनाले गर्दा कर्मचारीहरुले पनि सास्ती भोग्नु परेको उनको भनाइ छ । उनले आयोगमा दैनिक निवेदन, टेलिफोन तथा आयोगका वेभसाईड जस्ता विभिन्न माध्यमबाट आयोगमा उजुरीहरु पर्ने गरेको जानकारी दिए । उनले भने ‘अधिकांश उजुरीहरु बेनामका हुन्छन्, पछि झुटो ठहरिँदा कारबाही गर्न पनि समस्या हुन्छ ।’ उनको अनुसार आयोगमा झुटो उजुरी बढ्दो क्रममा भए पनि हालसम्म आयोगले कसैलाई पनि कारबाही भने गरेको छैन ।

झुटो उजुरी दिनेलाई पाँचहजारसम्मको जरिवानाको सजायको व्यवस्था भएता पनि आयोगले हालसम्म कसैलाई पनि कारबाही नगरेको उनले बताए । उनले भने ‘अख्तियारले भर्खरै मात्रै भ्रष्टाचार नियन्त्रण गर्न कारबाही सुरु गरेको छ, यस्तोमा सूचना दिनेलाई कारबाही गर्न थाले
फेरि सूचना नआउने डर भएकोले झुटो सूचना आएपनि कारबाही भएको छैन । ’

कुनैपनि उजुरी आयोगमा आएपछि उजुरीकर्तासँग प्रमाण तथा राय प्रतिक्रिया लिई दुई प्रकारले अनुसन्धान गर्ने गरेको उनको भनाइ छ । उनले उजुरी परिसकेपछि पहिला प्रारम्भिक रुपमा अनुसन्धान गरी उजुरी सही जस्तो लागेमा मात्रै आयोगले विस्तृत अनुसन्धान गर्ने गरेको बताए । उजुरी झुटो ठहर भएमा आयोगले त्यस्तो उजरीलाई तामिलीमा राख्ने गरेको जानकारी उनले दिए ।