मकवानपुरमा बढ्दैछ आत्महत्या, तीनवर्षमा तीनसय जनाले ज्यान फाले

प्रतिक्षा न्यौपाने
हेटौंडा–गत जेठ १६ गते हेटौंडा–३ बसामाडीकी ३५ वर्षीया सोनु थिङ आफ्नै घरमा डोरीले पासो लगाएर झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परिन् । सोनुको माइती पक्षले सोनुलाई झुण्ड्याएर मारेको भन्दै प्रहरीमा उजुरी दिएको छ । तर शवको पोष्टमार्टम गर्दा हत्या भएको कुनै प्रमाण नभेटिएको प्रहरीको भनाइ छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । सोनुको रहस्यमयी मृत्युको दुईदिनअघि जेठ १४ गते हेटौंडा–९ की २२ वर्षीया प्रमिला थापा बुढाथोकी छानाको पाइपमा सल बाँधी झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेकी थिइन् । उनले पनि आत्महत्या नै गरेको प्रहरीले पुष्टी गरेको छ ।

यी त प्रतिनिधि घटना मात्र हुन् । पछिल्लो समय मकवानपुरमा आत्महत्याको घटना निकै बढेको प्रहरीको तथ्याङ्कले देखाएको छ । जेठ १ गतेदेखि १६ गतेसम्मको अवधिमा मात्र मकवानपुरमा ८ जनाले आत्महत्या गरेका छन् । जसमध्ये अधिकांशले झुण्डिएर आत्महत्या गरेको देखिन्छ भने केहीले विष सेवन गरी आत्महत्या गरेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईका अनुसार मकवानपुरमा पछिल्लो समयमा आत्महत्याको घटना डरलाग्दो रुपमा बढिरहेको छ । उनका अनुसार मकवानपुरमा चालु आर्थिकवर्षको ११ महिनाको अवधिमा एकसय २८ जनाले झुण्डिएर र विष सेवन गरी आत्महत्या गरेका छन् । जसमध्ये ६९ जना पुरुष, ५५ जना महिला, ३ जना बालक र एकजना बालिका रहेका छन् ।

यस अवधिमा झुण्डिएर आत्महत्या गर्नेको संख्या ६७ छ भने विष सेवन गरी आत्महत्या गर्नेको संख्या ६१ रहेको छ । पछिल्ला तीनवर्षको तथ्याङ्क केलाउँदा बर्सेनि मकवानपुरमा आत्महत्या गर्नेको संख्या बढेको देखिन्छ । २०७२ देखि २०७५ सम्मको तीनवर्षको अवधिमा मकवानपुरमा तीनसय जनाले आत्महत्याको बाटो रोजेका छन् । आव २०७२/७३ मा मकवानपुरमा ९३ जनाले आत्महत्या गरेकोमा ०७३/७४ मा ९५ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ । त्यस्तै ०७४/७५ मा एकसय १२ जनाले आफैंले आफ्नो ज्यान फालेका छन् ।

तथ्याङ्कअनुसार २५ देखि ३५ वर्ष उमेर समूहका मानिसहरुले बढी आत्महत्या गर्ने गरेका छन् । तीनवर्षको अवधिमा तीनवर्षको अवधिमा २५ देखि ३५ वर्षका ७६ जनाले आत्महत्या गरेका छन् भने १६ देखि २५ वर्षसम्मकाले पनि सोही हाराहारीमा आत्महत्या गरेका छन् । १६देखि २५ वर्ष उमेर समूहका ७५ जनाले झुण्डिएर तथा विष सेवन गरी आत्महत्या
गरेका छन् ।

३५ देखि ४५ वर्ष उमेर समूहका ६२ जना र ४५ देखि ६० वर्ष उमेर समूहका ४१ जनाले आत्महत्या गरेका छन् । तीनवर्षको अवधिमा ६० वर्षभन्दा माथिका ३८ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ । पेशागत आधारमा तथ्याङ्क केलाउँदा कृषि पेशा गर्नेहरुले बढी आत्महत्या गर्ने गरेको देखिन्छ । तीनवर्षमा आत्महत्या गर्ने तीनसयजनामध्ये एकसय ७६ जना कृषक रहेका छन् । त्यस्तै ज्याला मजदुरी गर्ने ६३ जनाले आत्महत्या गरेको प्रहरीले तथ्याङ्कमा उल्लेख छ । सो अवधिमा ४५ जना बेरोजगार र १६ जना विद्यार्थीले पनि आत्महत्या गरेका छन् ।

तीन वर्षे तथ्याङ्कअनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा सबैभन्दा धेरै एकसय पाँचजनाले आत्महत्या गरेका छन् । थाहा नगरपालिकामा ३३ जनाले र मनहरी गाउँपालिकाका २४ जनाले आत्महत्या गरेका छन् । मकवानपुरगढीमा १८ र बकैया गाउँपालिकामा १२ जनाले आत्महत्या गरेका छन् । त्यसैगरी बागमती गाउँपालिकामा पनि नौ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । धेरैजसो आत्महत्याका घटना घरायसी झगडा एवम् आर्थिक अभाव जस्ता कारणले हुने गरेको प्रहरीको भनाइ छ ।