धरासायी बन्दै नवलपुरको सासु बुहारी बेकरी


हेटौंडा – पछिल्लो समय नेपालमा रोजगारी नपाएर विदेश पलायन हुने युवाको संख्या दिनप्रतिदिन बढ्दो छ । तर, आफ्नै गाउँटोलका बासिन्दा तथा आफ्नै परिवारलाई स्वरोजगार सिर्जन गर्ने उद्देश्यले हेटौंडा–११ निवासी बिमला वर्तौलाले स्थापना गरेको सासु बुहरी बेकरी उद्योग भने धरासायी बन्दै गएको छ ।

काठमाडौंमा बस्दा अरुले पाउरोटी बनाएको देखेको आधारमा आफ्नै टोलमा पाउरोटी उद्योग स्थापना गरेको बिमलाले बताइन् । १० हजार लगानीबाट चारवर्षअघि सुरु गरेको उद्योगको लगानी २० लाख रुपैयाँ पुगेको छ । अहिले ५ जना महिलाले प्रत्यक्ष रोजगारी पनि पाइरहेका छन् ।

आफूले गाउँमै उद्योग स्थापना गरी स्वरोजगार शृजना गरे पनि टोलबासी, वडा कार्यालय, उपमहानगरपालिका र महिला उद्यम गरेबापत कसैले सहयोग नगरेको बिमलाले गुनासो गरिन् । १५ धुर जग्गामा फैलिएको उद्योगमा उत्पादित पाउरोटी, पप, बम पाउरोटी, क्रिमरोल, बिस्कुट, निम्कि आदि बेकरी आइटम नवलपुरदेखि बस्तीपुरसम्म पुग्ने गरेको बिमलाले सुनाइन् ।

बेकरीको लागि आवश्यक कच्चा पदार्थको मूल्य बढेको तर बेकरी आइटमको मुल्इ वृद्धि नभएको कारण उद्योग नै धरासायी बन्दै गएको उनले गुनासो गरिन् । मूल्य वृद्धिले गर्दा तीन महिनादेखि उद्योग घाटामा सञ्चालन भइरहेको उनले बताइन् । हेटौंडाबाट प्रकाशित प्रदेश दैनिकमा सुजन ढकालले समाचार लेखेका छन् ।