फोहोर गरेको भन्दै अपाङ्ग छोराको हत्या

दोलखा– दोलखाको शैलुङ गाउँपालिकामा एक बाबुले फोहोर गरेकै निहुँमा आफ्ना छोराको हत्या गरेका छन् । २२ वर्षको अपाङ्गता भएको छोरालाई जताततै फोहोर गरेको भन्दै उनले हम्मरले हानेर हत्या गरेका हुन् ।

शैलुङ ४ का चुडाबहादुर रेग्मीले हम्मर प्रहार गरेपछि २२ वर्षिय छोरा बेदबहादुर रेग्मीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार २ वैैशाखदेखि नै बेदबहादुर घरमा देखिएका थिएनन् । बुधबार सोही गाउँको खहरे खोलामा मृत भेटिएको खबर प्रहरीले पाएपछि अनुसन्धान गर्दा उनको शव पत्ता लागेको थियो ।

बुबा चुडाबहादुरले प्रारम्भिक बयानका क्रममा आफ्नो छोरो जन्मजातै अपाङ्ग रहेको बताएको दोलखाका प्रहरी प्रमुख डिएसपी बासुदेब पाठकले जानकारी दिए । जताततै फोहोर दिसापिसाब गर्दै हिँड्ने गरेको र २ वैशाखमा पनि घरमा फोहोर गरेकोले आवेशमा आफुले हम्मर प्रहार गर्दा घटनास्थलमानै छोराको मृत्यु भएको चुडाबहादुरले स्वीकारेका छन् ।

अभियुक्त बाबु चुडाबहादुरलाई कर्तब्य ज्यान सम्बम्धि कसुरमा मुद्दा चलाइएको डिएसपी पाठकले जानकारी दिए ।