नेकपा मकवानपुर अध्यक्षमा सिग्देल र सचिव पुलामी

औपचारिक घोषणा आज

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाको आइतबारको सचिवालय बैठकले सबै जिल्लाका अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ ।

एमाले र माओवादीको तत्कालीन जिल्ला अध्यक्षलाई नै नेतृत्व दिने सहमति गरी अध्यक्ष र सचिवको टुंगो लगाइएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको सचिवालय बैठकले गरेको निर्णयअनुसार पूर्व एमालेले ४५ र पूर्व माओवादीले ३२ जिल्लामा नेतृत्व पाउनेछन् । सबै जिल्लाको भागबन्डा भने आज सोमबार टुङ्गिने बताइए पनि मकवानपुर जिल्लाको नेतृत्व भने पूर्व एमालेले पाउने निश्चित भएको एक् केन्द्रीय सदस्यले बताएका छन् ।

पूर्व एमालेले नेतृत्व पाएको जिल्लामा पूर्वमाओवादीको अध्यक्ष सचिव रहने र पूर्वमाओवादीले नेतृत्व पाएको ठाउँमा पूर्व एमालेको अध्यक्ष सचिव रहने गरी सहमति भएको छ । सहमति अनुसार मकवानपुरमा नेकपाको अध्यक्षमा पूर्वएमाले अध्यक्ष मुनु सिग्देल चयन हुनेछिन् भने पूर्व माओवादी अध्यक्ष प्रेमबहादुर पुलामी छिन्तु सचिव रहनेछन् ।

आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल सहभागी थिए। केन्द्रीय सदस्यहरुको कार्यविभाजन र पोलिटब्युरो गठनका विषयमा भने अर्को सचिवालय बैठकले टुंगो लगाउने भएका छन् । बैठकमा सहभागी सदस्य वामदेव गौतमले जिल्ला अध्यक्ष र सचिवको सूची मागे पनि दिइएन।

‘सिफारिसअनुसार नै तय गरिएको हो। नेकपाले लेनिन जयन्ती र नेपाल कम्युनिस्ट पार्टीको ७०औं स्थापना दिवसको अवसरमा सोमबार ७७ वटै जिल्ला कमिटीलाई पूर्णता दिने भएको हो। सोमबार दिउँसो कमलादीस्थित प्रज्ञाभवनमा ७०औं स्थापना दिवस मनाउने कार्यक्रम तय भएको छ। गत जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण हुँदा तीन महिनाभित्र सबै तहमा एकीकरण गरिसक्ने भनिए पनि ११ महिनासम्म पनि प्रक्रिया टुंगिन सकेको छैन।

७७ जिल्ला कमिटीको टुंगो लागे पनि उपत्यका विशेष जिल्ला कमिटी, मजदुर, विद्यार्थी, सम्पर्क समन्वय कमिटीको नेतृत्व टुंगो लाग्न बाँकी छ।