हेटौंडा, २८ चैत
प्रदेश नम्बर २ मा रहेको पर्साको ठोरी गाउँपालिकालाई ३ नम्बर प्रदेशमा समेट्नेबारे कुटनीतिक पहल थाल्न प्रदेशसभामा आवाज उठेको छ । बुधबारको प्रदेशसभा बैठकमा राप्रपा संयुक्तकी सांसद रिना गुरुङले ठोरी गाउँपालिकाका बासिन्दाले ३ नम्बर प्रदेशमा समेटिनुपर्ने माग गर्दै आएकाले त्यसबारेमा सोच्नुपर्ने बताएकी हुन् ।
स्थानीयको सहजता र ३ नम्बर प्रदेश छिर्ने भारतीय नाकाको रुपमा ठोरीलाई प्रयोग गर्न सकिने भएकाले ३ नम्बर प्रदेशमै ठोरीलाई समेट्नुपर्ने उनको भनाइ छ । चितवन जिल्लाको प्रतिनिधित्व गर्ने सांसद गुरुङले भनिन् –‘ठोरीबासीको चाहना र मागको पनि सम्बोधन हुन्छ, प्रदेशसँग भारत जोड्ने नाका पनि बन्छ, प्रदेश सरकारले निर्णय गरेर त्यसका लागि कुटनीतिक पहल थाल्नु जरुरी छ ।’
राजधानी टुङ्ग्याउन ढिलाइ भएकोमा असन्तुष्टि व्यक्त गर्दै प्रदेश सभालाइ प्राप्त संबैधानिक हक कार्यान्वयन गर्नुपर्नेमा विशेष समयमा बोल्ने सांसदहरुले बताएका थिए ।
नाकाबन्दीको समयमा ठोरी नाकाबाट इन्धनको सहज आयात भएको स्मरण गर्दै उनले प्रदेशको महत्वपूर्ण नाका ठोरी बन्न सक्ने दावी गरिन् । एकसय २८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ठोरी गाउँपालिकामा करिब २० हजार जनसंख्या रहेको छ । पर्सा जिल्लाको तत्कालीन ठोरी, निर्मलबस्ती र सुवर्णपुर गाउँ विकास समिति मिलाएर ठोरी गाउँपालिका बनाइएको थियो । गाउँपालिकामा ५ वटा वडाहरु रहेका छन् ।
प्रदेशसभामा बुधबार प्रदेशको स्थायी राजधानी र नामाकरणको विषयमा पनि सांसदहरुले सरकारको जवाफ मागेका थिए । राजधानी टुङ्ग्याउन ढिलाइ भएकोमा असन्तुष्टि व्यक्त गर्दै प्रदेश सभालाइ प्राप्त संबैधानिक हक कार्यान्वयन गर्नुपर्नेमा विशेष समयमा बोल्ने सांसदहरुले बताएका थिए ।
सांसदहरुले विभिन्न सार्वजनिक सरोकारका बिषय पनि उठान गरेका थिए । विशेष समयमा सांसद शोभा शाक्य, कांग्रेस सचेतक छिरिङ्ग दोर्जे लामा, विनोदकुमार खड्का, विजया श्रेष्ठ केसी, नेकपा सचेतक रामेश्वर फुयाँल, कांग्रेस सांसद पुकार महर्जन, नेकपाका नारायणबहादुर सिलवाल, शान्तिप्रसाद पौडेल, कृष्णप्रसाद खनाललगायतले आफ्नो धारणा राखेका थिए ।
मंगलबारको प्रदेशसभामा पेश भएको मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि बुधबार सैद्धान्तिक छलफल भएको छ । प्रस्तावित विधेयकमाथि आधा दर्जन सांसदले आफ्ना धारणा राखेका थिए । प्रदेशसभाको अर्को बैठक २०७६ वैशाख ३ गते बोलाइएको छ ।