महामारीका बेला दालमा कालोबजारी गर्ने व्यापारी तेजकरण शर्मा पक्राउ
बारा, बैशाख ६ गते । बारा प्रहरीले दाल कालोबजारी गरेको आरोपमा वीरगन्जका धन लक्ष्मी दाल मिलका संचालक तेजकरण शर्मालाई पक्राउ गरेको छ । शर्मालाई शनिवार सांझ पक्राउ गरि जिल्ला प्रहरी कार्यालय कलैयाको हिरासतमा राखिएको छ । कलैया स्थित यादव कोल्ड स्टोरमा राखिएको रहरको दाल खान योग्य नभएपनि सो दाल राहतमा वितरण गरेको गुनासो आएपछि प्रहरीले दालको नमुना लिएर अनुसन्धान प्रकृया अगाडि बढाएको थियो । प्रहरीले कालोबजारी ऎन अन्तरगत मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको हो । अहिले सम्म प्रहरीले तीन जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । केही व्यक्तिलाई पक्राउ गरिएको र मुद्दाको अनुसन्धान जारीरहेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । दाल कालोबजारी गरेको आरोपमा पक्राउ परेका धन लक्ष्मी दाल मिलका संचालक शर्मा माथि कालो बजारी दर्तागरि प्रकृया अगाडी बढाइएको बारा प्रहरीले जनाएको छ । दाल कालोबजारी मुद्दामा केही जनप्रतिनिधि, केही कर्मचारी लगायतलाई प्रहरीले कानुनी दायरामा ल्याउने तयारी गरेको प्रहरी स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मिश्रले दुई, तीन दिनमा यसबारे थप जानकारी दिने बताए ।