हेटौंडा सिमेन्टको मुख्य मेसिन बिग्रियो, दुई हप्तादेखि उत्पादन प्रभावित

हेटौंडा– सरकारी स्वामित्वमा सञ्चालित हेटौंडा सिमेन्ट उद्योगको कच्चा पदार्थ उत्पादन गर्ने मुख्य मेसिन ‘र मिल मेन ड्राइभ मेसिन’ बिग्रँदा उत्पादन प्रभावित भएको छ ।

गत वैशाख १६ गतेदेखि २३ सय किलोवाटको मुख्य मेसिन बिग्रिएसँगै उद्योगको कच्चा पदार्थ उत्पादन ठप्प भएको छ । जसको असर सिमेन्ट उत्पादनमा पर्ने देखिएको छ । उद्योगमा स्टक क्लिङ्कर र अन्य कच्चा पदार्थ स्टक रहेको कारण अहिलेसम्म उत्पादन नै ठप्प नभए पनि मेसिन बनाउन समय लाग्ने भएकाले त्यसको असर उत्पादनमा पनि पर्ने उद्योगका प्रशासन शाखा प्रमुख गणेश कोइरालाले जानकारी दिए । करिब एक डेढ लाख बोरा सिमेन्ट उत्पादन गर्न पुग्ने कच्चा पदार्थ स्टक रहेको उनले बताए । उद्योगले दैनिक करिब १० हजार बोरा सिमेन्ट उत्पादन गरिरहेको छ । तोकिएको समयभित्र मेसिन नबने उत्पादन नै ठप्प हुने अवस्था आउने कोइरालाको भनाइ छ ।

‘१६ गते मेसिन बिग्रियो, खोल्नको लागि ६ दिन लाग्यो, २२ गते हामीले बीरगञ्जमा बनाउन पठाएका छौं, यो महिनाको अन्तिमसम्ममा बनिसक्ने भन्ने कुरा आएको छ, त्यतिबेलासम्म पनि बनेन भने उत्पादन नै ठप्प हुने अवस्था छ’– प्रशासन प्रमुख कोइरालाले भने । मर्मतपछि जडान गर्न नै करिब एक हप्ता लाग्ने र परीक्षण गर्नेलगायतको काम गर्न मात्र झण्डै १० दिन लाग्नेछ । उक्त मेसिन मर्मत गर्न करिब २२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

मेसिन बिग्रिएर कच्चा पदार्थ उत्पादनको काम हुन नसकेपछि उद्योगको प्लाण्ट, प्याकिङलगायतका युनिट पनि मर्मत सुरु गरिएको बताइएको छ । २०४२ सालमा उद्योग उत्पादन भएयता उक्त मेसिनले निरन्तर काम गरिरहेको थियो । उक्त मेसिन निकै महङ्गो हुने भएकाले विकल्पको रुपमा प्रयोग गर्न स्टक खरिद गरिएको थिएन । उद्योग चलेदेखि पहिलो पटक उक्त मुख्य मेसिन बिग्रिएकोे उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले जानकारी दिए ।

‘यो मेसिन पुरानो भएकाले अब नयाँ मेसिन किन्ने प्रक्रिया सुरु गरेका छौं, अहिलेको बजार मूल्यअनुसार यो मुख्य मेसिनको मूल्य झण्डै तीन करोड जति पर्छ, हामीले अर्डर गरिसकेपछि मात्र कम्पनीले बनाउन थाल्छ, त्यसैले करिब ८–१० महिना बनाउनै लाग्छ ।’ सिंहले भने । आफूहरुले मेसिन खरिदको लागि लागत मूल्य माग गरिएको उनले बताए ।