प्रदेश ३ मा सूचीकृत बिउबिजन मात्र बिक्री गर्न पाइने

हेटौँडा–प्रदेश ३ सरकारले सूचीकृत नभएको बीउ बिजन बिक्री गरे वा गराएमा जरिवाना गर्ने भएको छ ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेश सभामा पेस गरेको प्रदेश बीउ बिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा जरिवाना प्रस्ताव गरिएको हो । विधेयकको दफा १२ को १ मा कुनै ब्यक्ति वा संस्थाले बीउ बिजनको बिक्री वितरणसम्बन्धी कारोवार गर्न अनुमति लिनुपर्ने र अनुमति नलिई बीउ बिजन बिक्री वितरण गरेमा बीउ बिजन निरीक्षकले जफत गर्ने व्यवस्था गरिएको छ ।  दफा १३ मा कृषि अनुसन्धान प्रयोजनको लागि बाहेक सूचीकृत नभएका बीउ बिजन बिक्री वितरण गर्न नपाइने उल्लेख छ ।

विधेयकको दफा १२ र १३ विपरीत बीउ बिजन बिक्री, वितरण गरे वा गराएमा १० हजार रुपियाँदेखि २० हजार रुपियाँसम्म जरिवाना हुने प्रस्ताव गरिएको छ । यस्तै अनुमतिपत्र नलिई बीउ बिजन परीक्षण प्रयोगशाला सञ्चालन गरेमा ५० हजार रुपियाँदेखि एकलाख रुपियाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था विधेयकमा छ । सूचीकृत बीउ बिजन बिक्री वितरण गर्ने व्यक्ति वा संस्थाले आफूले बिक्री वितरण गर्ने बीउको भाँडोमा बीउ बिजनको किसिम र जात, तोकिएको न्यूनतम गुणस्तरको हद, रासायनिक पदार्थ प्रयोग गरी उपचार गरिएको भए सोको विवरणलगायतका कुरा उल्लेख गर्नुपर्ने विधेयकको दफा १५ मा व्यवस्था छ ।

दफा १५ विपरीत विवरण नखुलाई बीउ बिजन बिक्री वितरण गरे वा गराएमा १० हजार रुपियाँदेखि १५ हजार रुपियाँसम्म जरिवाना हुने छ विधेयकमा भनिएको छ ।
आजको साझाकुरा दैनिकमा समाचार छ ।