मेयरको सवा करोडको गाडीमा अज्ञात समूहले लगायो आगो

अछाम– अछामको मङ्गलसैन नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । नगरपालिकाको बा २ झ ३६९४ नम्बरको गाडीमा गए राति आगजनी भएको प्रहरीले जनाएको छ। आगजनीबाट गाडी पूर्णरुपमा नष्ट भएको छ ।

नगरपालिका परिसरमै पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको हो। नष्ट भइसकेपछि पुगेको प्रहरी टोलीले आगो निभाएको थियो । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीका अनुसार गाडीमा आगजनी गर्नेको पहिचान भएको छैन । आगजनी गर्ने समूहको खोजी भइरहेको उनले बताए ।

स्थानीयवासीले गाडीमा आगजनी भएको प्रहरीलाई जानकारी गराएका थिए । पार्किङ गरेर राखिएको गाडीमा योजनाबद्ध ढङ्गले आगजनी गरेको हुनसक्ने प्रमुख प्रशासकीय अधिकृत गणेश ढुङ्गानाले बताए । सोही ठाउँमा पार्किङमा राखिएका टिपरलगायत अन्य सरकारी गाडीमा भने कुनै क्षति गरिएको छैन ।

नगरप्रमुख पदमबहादुर बोहरा चढ्ने उक्त गाडी नगरपालिकाले करीब एक वर्षअघि एक करोड २० लाख रुपैयाँमा खरीद गरेको थियो । गाडीमा विप्लव समूहले आगजनी गरेको हुनसक्ने आशङ्कामा प्रहरीले खोजीकार्य तीव्र पारेको छ ।