राजधानी नटुङ्गिए बजेट ल्याउनै नदिने प्रतिपक्षको घोषणा

हेटौंडा– हिउँदे अधिवेशन अवधिभरमै प्रदेशको स्थायी राजधानी र नामाकरण टुङ्ग्याउनेसहमतिविपरित ३ नम्बर प्रदेश सरकारले सुटुक्क हिउँदे अधिवेशन अन्त्यको लागि प्रदेश प्रमुखलाई पत्र पठाएपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस रुष्ट भएको छ ।

प्रदेशको कार्यव्यवस्था परामर्श समितिको बैठकमा हिउँदे अधिवेशनमै प्रदेशको स्थायी राजधानी र नामाकरण टुंग्याउने गरी मुख्यमन्त्री र सभामुखले नै सहमति गरे पनि अहिले त्यसलाई तोेडिएको भन्दै नेपाली काँग्रेसले अब प्रदेशसभा अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

सहमति तोडेर प्रदेश सरकार एकलौटी ढंगले अघि बढ्न खोजेकाले अब राजधानी र नामाकरणको विषय नटुङ्गिएसम्म प्रदेशसभाको बैठक नै चल्न नदिने प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले चेतावनी दिए ।

स्थायी राजधानी र नामाकरण गर्न कार्यविधि बनाएर प्रक्रिया अघि बढाउने सहमति भएकोमा प्रदेश सरकारले त्यस विषयलाई लत्याएको बानियाँले बताए । ‘अहिलेसम्म हामी सहमति, सहकार्य र एकताबाटै सरकारलाई सघाइरहेका थियौं, अब सहमतिको उल्लंघन हुन थालेको छ, बल मिच्याईं हुन थालेको, अब प्रदेशको राजधानी र नामाकरण नटुङ्गिएसम्म हामी प्रदेशको बजेट अधिवेशन नै रोक्छौं, बजेट ल्याउनै दिँदैनौं ।’ दलका नेता बानियाँले भने ।