घर भाडा माग्दै वडा कार्यालयमा तालाबन्दी

बारा, ३ मंसिर । महागढीमाई नगरपालिका वडा नम्बर-४ दहियारको वडा कार्यालयमा सात दिनदेखी तालाबन्दी भएको छ । वडा कार्यालय सञ्चालन गरेवापत बिगत १३ महिनादेखी घर भाडा नदिएको भनी घरपट्टीले वडा कार्यालयमा तालाबन्दी गरेको हो । वडा अध्यक्ष कृष्णामुरारी प्रसाद यादवलाई पटकपठक मौखिक तथा निवेदन दिएर पनि घर भाडा माग गर्दा वास्ता गरेकाले कातिक २७ गते बुधवारको दिन तालाबन्दी गरिएको सोही वडाका स्थानीय घरपट्टी शिवजी प्रसाद कलवारले बताउनुभयो । महागढीमाई नगरपालिकाको(४ नम्बर वडा कार्यालय सञ्चाल गरेको दिनदेखी हालसम्म करिब ५५ हजार घर भाडा माग्दै आफू हैरान भएपछि वडा कार्यालयमा तालाबन्दी गर्नु परेको घरपट्टी कलवारले जानकारी दिनुभयो । यता वडा कार्यालयमा तालाबन्दी भएपछि दैनिक नागरिकता सिफारिस, जग्गा बिक्रीका लागि चाहिने सिफारिस, चारकिल्ला प्रमाणित लगायतको कामकाजका लागि आउने सोवाग्रहीहरु मारमा परेका स्थानीय मंजुर मियाँले बताउनुभयो । लाखौ रकम वडाको नाउँमा झिकेर विकास गर्ने तथा घर भाडा दिन नस्कने भएकाले घर भाडाको नाउँमा यसरी जनताको कामलाई तालाबन्दी गरेर सेवा लिनबाट बंञ्चित राख्नु उचित नभएको अर्का सेवाग्रही बेदानन्द शुक्लाले जानकारी दिनुभयो । वडा कार्यालयमा लागेको तालाबन्दीको बारेमा आफूलाई जानकारी नभएको र के भएको हो वास्तविक पत्ता लगाएर उत्पन्न समस्या समाधान गरिने बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेलले बताउनुभयो ।